जोडिनुहोस
  • होमपेज
  • बैतडी जिप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव परीक्षण अझै हुन सकेन

बैतडी जिप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव परीक्षण अझै हुन सकेन

बैतडी : जिल्लामा मंगलबार राति भएको जिप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव परीक्षण अझै हुन सकेको छैन। क्षतिपूर्तिका लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्।

शव परीक्षणका लागि देउलेक स्वास्थ्य चौकी पुर्‍याइए पनि क्षतिपूर्तिको लिखित सहमति गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन्। गाडीधनीसँग क्षतिपूर्तिको लिखित सहमति माग गर्दै शव परीक्षण गर्न नमानेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। गाडी साहु बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमतिका लागि भने आएका छैनन्। मिलनले आफ्ना दाइ पदमलाई सहमतिका लागि पठाएका छन्। पदमले मौखिक सहमति मात्रै गरेका छन्‚ मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन्।

यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै शव राखेर आन्दोलन गरेका थिए। शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति  दिने भने मौखिक सहमतिपछि शव बुझेका थिए। मौखिक सहमतिमा शव बुझे पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै आन्दोलन गरेका हुन्। उनीहरूले बिहीबार बिहान पनि जयपृथ्वी राजमार्ग केही बेर बन्द गरेका थिए।

मंगलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति  ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहरालाई ढोल्यामोडबाट नियन्त्रणमा लिएर सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको  छ।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्। जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका वेला उनीहरू दुर्घटनामा परेका हुन्। जिप सडकबाट ५ सय मिटर तल खसेको थियो। उकालो सडकमा एक्कासी जिप ब्याक भएर भीरमा खसेको थियो।  ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका