जोडिनुहोस
  • होमपेज
  • बढ्न थाल्यो डेंगु संक्रमण

बढ्न थाल्यो डेंगु संक्रमण

डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग विशेषज्ञ डा गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । उनले पछिल्ला दिनमा बिस्तारै डेंगु संक्रमण बढ्दै गएको बताए । ‘विभिन्न ठाउँमा फाटफुट्ट केस देखिन सुरू गरिसकेका छन् । एक हप्तामा २२ देखि २५ केस रिपोर्ट हुँदै आएको छ,’ दाहालले  भने, ‘अब सचेत हुने अवस्था आइसकेको छ ।’

प्रि–मौसम सुरू हुने र गर्मी बढ्ना साथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्दा डेंगु फैलिने जोखिम बढी हुने उनले बताए । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ । विज्ञका अनुसार अघिल्लो वर्ष नै लामखुट्टेले प्रशस्त अण्डा पारेका कारण यो वर्ष डेंगु फैलिने उच्च जोखिम छ । ‘पुस, माघ महिनामा कहिल्यै पनि केस शून्य भएन । अघिल्लो वर्ष नै महामारीको रुपमा डेंगु फैलिएका समुदायस्तरमा लामखुट्टेले प्रशस्त अण्डा पारेको छ । यस कारणले पनि यस वर्ष चूनौतीपूर्ण रहेको देखिन्छ,’ महाशाखाका किटजन्य रोग विशेषज्ञ डा दाहालले भने ।

अघिल्लो वर्ष ७७ जिल्लामा फैलिएको डेंगुले २० जनाको मृत्यु र ५२ हजारभन्दा बढीमा संक्रमण भएको सरकारी तथ्यांक छ । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैन्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् । जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । उक्त संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसँग समवन्य र तालिम दिने काम भइरहेको डा। दाहालले बताए । डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयम् नै जिम्मेवार हुनुपर्छ । यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जनस्वास्थ्यविद्को बुझाइ छ। उनीहरूका अनुसार लामखुट्टेले सफा पानी जमेको स्थानमा अण्डा पार्ने गर्छ । विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले अण्डा पार्छ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि शहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेजमा रहन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।

दाहालका अनुसार संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका