जोडिनुहोस
  • होमपेज
  • फिलिपिन्सबिरूद्व खेल्दै नेपाल

फिलिपिन्सबिरूद्व खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज बिहीबार फिलिपिन्सको सामना गर्दैछ ।

नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदानमा खेल्नेछ । रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ । तर, फिलिपिन्सविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार व्यहोरेको छ ।

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिलिपिन्स भ्रमण र साफका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

डिफेन्डर विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन् ।

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका