जोडिनुहोस
  • होमपेज
  • बाढी पहिरामा बेपत्ता भएकाहरूको खोजी कार्य जारी

बाढी पहिरामा बेपत्ता भएकाहरूको खोजी कार्य जारी

किमाथाङ्का– सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरूको खोजी आज पनि जारी छ ।

बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उनले बताए ।

बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा सुरक्षाकर्मी परिचालित छन् । वर्षाका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खोजीमा सक्रिय रहेका छन् । बाढी र पहिरामा परी बेपत्ता भएका सङ्खसवासभाका विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ ।

बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि सोमबार एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् ।

बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेँवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन् । बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् ।

गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका