जोडिनुहोस
  • होमपेज
  • गगन थापाको प्रस्तावमा शेखर कोइरालाको समर्थन

गगन थापाको प्रस्तावमा शेखर कोइरालाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक वर्षपछि केन्द्रीय समिति बैठक किन बस्न सकेन भन्ने प्रश्न नेतृत्वलाई सोधेका छन् । जारी केन्द्रीय समितिको आइतबारको बैठकमा नेता कोइरालाले सभापति र पदाधिकारीले यसको जवाफ दिनुपर्ने माग गरेका छन् ।

अहिलेको बिश्व लोकरिझ्याइँमा चलेको भन्दै सायद केन्द्रीय समितिको बैठक लाइभ गर्नु राम्रै भए पनि कुन बिषय बन्दकोठामा गर्ने र कुन बिषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्ने धारणा राखे ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै रहेको कोइरालाले बताए । ‘कांग्रेस मासबेस पार्टी भनिन्छ, तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ ।

केन्द्रले जिल्लालगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ । किनकि यसले संघियताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ,’ उनले भने ।

कोइरालाले कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय नभएको बताउँदै आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौं भनी शपथ खानुपर्ने बताए । गत निर्वाचनमा कांग्रेसले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम रहेको उनले बताए ।

‘गएको आमनिर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको छ । ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन, तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनि हामी छौँ ।

संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रोसामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुवाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतीको घेरामा छ,’ उनले भने ।

सरकारको समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय नभएको उनले बताए । नेता कोइरालाले राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको आरोप लगाए । नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘हाल संसदमा रहेको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक९२०८०” तत्काल खारेज गरिनुपर्छ । यदि यो बिधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन्,’ उनले भने ।

कोइरालाले समाजबादी मोर्चा किन बनेको हो रु गठबन्धनभित्रैबाट बनेको यसको औचित्य के हो रु भन्दै प्रश्न गरे । उनले कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने बिश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव नरहेको उल्लेख गरे ।

भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो बिषय भएको भन्दै यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था नरहेको उनले उल्लेख गरे । ‘यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छबि धमिलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्ने कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका