जोडिनुहोस
  • होमपेज
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।

गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।

नियमित तथा व्यावसायिक अन्तर्राष्ट्रिय उडान पोखराबाट सुरु नभएको भए पनि खेलाडी बोकेर आउने तथा अन्य प्रयोजनको लागि आउने चार्टर उडानका लागि काठमाडौंको टोली पोखरा आउँदा व्यवस्थापनमा समस्या हुने गरेको थियो। तत्कालका लागि व्यावसायिक उडान नभएको भए पनि चार्टर र आउँदा दिनमा सुरु हुने व्यावसायिक उडानलाई ध्यानमा राखेर गृह मन्त्रालयले पोखराका लागि २९ जना कर्मचारीको दरबन्दी खडा गरेको छ। अहिले कामको चाप नभएकाले विमानस्थलमा औपचारिक रूपमा अध्यागमन कार्यालय सञ्चालन गर्न १० जना कर्मचारीहरू खटिरहेका छन्।

‘नेपाल सरकारले यहाँको विमानस्थलमा अध्यागमन कार्यालयका लागि दरबन्दी स्वीकृत गरिसकेको छ। गृह मन्त्रालयले खटाएका कर्मचारीहरू विधिवत रूपमा हाजिर भएर कार्यालय स्थापना गरेर अगाडि बढेका छौँ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयबाट जस्तो प्रकारको सेवा प्रवाह हुन्छ यहाँबाट पनि अराइभल र डिपार्चरका त्यस्तै प्रकृतिका कामहरू हुने छन्’, अध्यागमन अधिकृत न्यौपानेले भने, ‘कामको चापको हिसाबले काठमाडौंको कार्यालयमा कर्मचारीको सङ्ख्या र कामको चाप बढी हुन्छ भने यहाँ भर्खरै त्यस्तो चाप छैन।

यहाँको व्यस्तता र खटाइ कम हुने भए पनि अराइभल र डिपार्चरतर्फका कामको प्रकृति र शैली सबै एउटै हुन्छन्।’ कार्यालयको खास काम अन्तर्राष्ट्रिय उडानसँग भएकोले अन्तर्राष्ट्रिय उडानको चाप बढ्दै गएपछि हामीहरूको कामको चाप पनि बढ्दै जाने तर अहिलेलाई तत्काल कार्यालय सुरु गर्नु भन्ने निर्देशन आए अनुसारका कार्यालय स्थापना गरिएको उनको भनाइ छ।

विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक पूर्वाधार तयार भइसकेकोले अहिले कार्यालय व्यवस्थापनको काम चलिरहेको छ। बिहीबार कार्यालय स्थापना भएपछि अध्यागमनको पहिलो काम गत मङ्सिर नौ गतेदेखि पोखरामा सञ्चालन भएको माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन हिमालय एयरलाइन्सको जहाज आएका चिनिया खेलाडीहरूसँग भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक गत असार छ गते अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको थियो। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। उक्त जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना खेलाडीहरू नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने पोखरा आएका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। यो विमानस्थल निर्माण गर्दा २२ अर्ब रूपैयाँ खर्च भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका