जोडिनुहोस
  • होमपेज
  • पत्थरी अपरेशनमा मिर्गौला फाल्दा बिरामीको मृत्यु

पत्थरी अपरेशनमा मिर्गौला फाल्दा बिरामीको मृत्यु

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिँदा मृत्यु भएको छ । आइतबार राति उनको मृत्यु भएको हो ।

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तले जनाएका छन् ।

धनगढीस्थित स्वस्तिक मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो । बिरामीका भतिजा राजकुमार चौधरीकाअनुसार आइतबार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो ।

‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौं,’ उनले भने, ‘करिब एक घन्टापछि भेट्न गयौँ । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौँ ।’

राजकुमारकाअनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अफ्ठ्यारो भएको थियो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौँ । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले,’ उनले भने, ‘त्यसपछि बाध्यतावस हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौँ ।’

राति २ बजे किड्नी निकालिएको उनको भनाइ छ । ‘तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आईसीयूमै राखिएको थियो । हामी भेट्न गयौँ । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’

चौधरीकाअनुसार बिरामीको मृत्यु भएपछि अस्पतालन प्रशासनले घटना लुकाउन पीडितको परिवारलाई पैसाको प्रलोभन देखाएको थियो । ‘आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको मृत्यु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस् भन्न थाले।’

अस्पतालका अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको बताए । ‘बिरामीको मृत्यु भइसक्यो, हामीले आफन्तलाई पनि भनिसक्यौं,’ जोशीले भने ।

बिरामीका आफन्तका अनुसार चार छोरी र दुई छोरा रहेका चौधरीलाई पेट दुख्ने समस्या पनि थिएन । घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए । उनले भने, ‘अस्पतालमा एक लाखमा पत्थरीको अप्रेसनको कुरा भएको थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका