जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ । उत्तरतर्फको रन–वे अर्थात् धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका कामको विस्तार थालिएकोले ९० दिनसम्म उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको हो ।

विमानस्थलमा हुन लागेको पूर्वाधार विस्तारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । यो विमानस्थालको धावनमार्ग तीन हजार ५० मिटर लामो छ । हरेक धावनमार्गका दुईतर्फका टुप्पोमा दुई अङ्कको नम्बर लेखिएको हुन्छ । यो अङ्कले धावनमार्गको दिशा बताउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दक्षिणतर्फ ‘०२’ र उत्तरतर्फ ‘२०’ लेखेको छ । दक्षिणतिर कोटेश्वर, उत्तरमा पशुपति क्षेत्ररगौरीघाट पर्छ । दक्षिणतर्फबाट अवतरण हुने ठाउँ ‘०२’ र उत्तरतर्फबाट अवतरण हुने ठाउँ ‘२०’ हो ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फ अर्थात् कोटेश्वर क्षेत्रबाट विमान अवतरण गर्ने गर्छन् । कहिलेकाहीँ उत्तरतर्फ अर्थात् गौरीघाटबाट अवतरण हुने गरेको छ । धानवमार्ग र जहाज अड्याइने ठाउँ पाकिङ जोड्नका लागि ट्याक्सी–वे चाहिन्छ । धावनमार्गको लम्बाइअनुसार ट्याक्सी–वेको सङ्ख्या निर्धारण हुन्छ । लामो धावनमार्ग भए धेरै वटा ट्याक्सी–वे हुन्छन् ।

यसअघि दक्षिणतर्फ धावनमार्ग तीन सय मिटर विस्तार भएको थियो । त्यसमा बाँकी रहेका केही काम, धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टु–इन्ड समानान्तर ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्याङ्गरलगायतका भौतिक पूर्वाधारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । तर धेरैजसो काम रातको समयमा हुनेछ । उहाँका अनुसार ठूला जहाजलाई केही समस्या हुन सक्छ तर पूरै हवाई यात्रा भने बन्द हुने छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका