जोडिनुहोस
  • होमपेज
  • सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् ।

चैत्र शुक्ल सप्तमी, अष्टमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताएका छन् ।

वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना ९दशगजा०मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ ।

यस स्थानमा रहेको गढीमा देखिएका इँटा र गढीको पर्खाल निकै पुरानो भए पनि पुरातत्व विभागले उत्खननमा चासो नदिएको उनले बताए । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा चुरे पर्वत हुँदै मन्दिर पुग्न भन्दा एक हजार पाँच सय मिटर तलसम्म कच्ची सडक निर्माण गरेको बताए ।

सडकमार्ग सकिएसँगै सुरु हुने पैदलमार्गबाट मन्दिरसम्म पुग्न मानिसको आकर्षण बढाउन प्रस्तर मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उनको भनाइ छ । उनले गढी क्षेत्र दशगजामा परेकाले स्थानीय सरकारबाट ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताए ।

चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारू समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिएको मन्दिरका पूजारी शोभाखर चापागाईँले बताए । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास रहेको उहाँको भनाइ छ ।

पूजारी चापागाईँले भने, ‘पहिले थारू समुदायको मात्रै आस्थाको केन्द्र रहेको सोमेश्वर कालिका अहिले आम नेपाली र भारतीयसमेतको धार्मिक आस्थाको केन्द्र बनेको छ, यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।’ सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ भएको चापागाईँले बताए ।

चैतेदसैँको अवसरमा भारतको महाराष्ट्र, बङ्गालसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका भए पनि नेपालबाट बाह्रै महिना धार्मिक पर्यटक पुग्ने गरेका उनले बताए । भरतपुरबाट सोमेश्वरगढी घुम्न पुगेका महेन्द्र आचार्यले ऐतिहासिक गढीमा पुग्दा आनन्दको महसुस भएको बताए। उनले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर यहाँ रहेका संरचनाको संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताए।

मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका