जोडिनुहोस
  • होमपेज
  • जिल्लाको सदरमुकाम तानसेनका घर टहरामा बिहानै डोजर चल्‍यो

जिल्लाको सदरमुकाम तानसेनका घर टहरामा बिहानै डोजर चल्‍यो

पाल्पा :  जिल्लाको सदरमुकाम तानसेन। तानसेनको मुख्य बजार तेर्सो सडक। जहाँ किनमेल गर्ने मानिसको दैनिकजसो निकै भीड लाग्ने गर्छ। बुधबार बिहान सात बजे भने यहाँका घर टहरामा डोजर चलाइयो। एकैपटक तीनवटा डोजर ल्याएर भत्काउन थालियो।

पाल्पा दरबार परिसर र मूलढोकाको दायाँबायाँ रहेका घर टहरा भत्काउन सुरु गरिएको हो।  तानसेन नगरपालिकाले ३५ दिनअघि सूचना प्रकाशन गरेर यहाँ भएका पसल हटाउन भनेको थियो। मंगलबार ३५ दिन पुगेको छ। नगरपालिकाले आज बिहानै ७ बजे डोजर लगाएर घरटहरा भत्काउन थालेको छ।

केही दिन अघिसम्म हटाउनका लागि थप समय दिनेमा व्यापारी आशावादी थिए। तानसेन नरगपालिका बल प्रयोग गर्न पर्छ कि भन्ने सोचमा थियो। यद्यपि, त्यसो हुन पाएन। सजिलै व्यापारीले निर्देशनको पालना गरे। नगरपालिकाले अन्तिम समयमा पुनः हटाउन चेतावनी दिएपछि उनीहरूले गएरातिदेखि नै पसलका सामान अन्यत्र सार्न थालेका थिए। आज डोजर आएर भत्काउन थालेपछि बाँकी सामान हतार हतार निकाल्न खोजिएको दृश्‍य देखिन्थ्यो। अधिकांशले फर्निचरका सामान हटाउन भ्याएका थिएनन्।

पुरातत्व विभागले गत माघ १० गते पाल्पा दरबारलाई सौन्दर्यीकरण तथा थप विकासका लागि तानसेन नगरपालिकालाई पत्र पठाएको थियो। पुरातन शैलीमा दरबार परिसरको विकास गरी विश्व सम्पदा सूचीमा पार्ने योजनासहित घरटहरा भत्काउन थालिएको तानसेन नरगपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।  नगरपालिकाले तत्काल ५७ वटा घरटहरा भत्काउने भएको हो।

दरबार परिसरमा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, विद्युत कार्यालय, बाल संगठन र राष्ट्रिय अनुसन्धानको कार्यालय पनि छन्। विकल्प खोजेर यिनी कार्यालयका भवन पनि भत्काइने श्रेष्ठले बताए।

पर्यटकीय स्थलको रूपमा परिचित तानसेनमा रहेका दरबार परिसरमा रहेका घरटहरा भत्काउने कार्य राम्रो हो। जुन उद्देश्यका लागि भत्काइएको हो। त्यहीअनुरूप विकास हुनुपर्नेमा स्थानीयको जोड छ। भताभुंग पारेर नराख्न उनीहरूले सुझाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका