जोडिनुहोस
  • होमपेज
  • बरु सरकार छोड्छौं, तर भ्रष्टाचारीलाई बचाउन सम्झौता गर्दैनौं : प्रधानमन्त्री प्रचण्ड

बरु सरकार छोड्छौं, तर भ्रष्टाचारीलाई बचाउन सम्झौता गर्दैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए ।

पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’

त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल-भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ ।

घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।

‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका