जोडिनुहोस
  • होमपेज
  • लम्पी स्किनका कारण साढे ३ महिनामा २५ हजार पशुको मृत्यु

लम्पी स्किनका कारण साढे ३ महिनामा २५ हजार पशुको मृत्यु

काठमाडौं । लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ । २०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको पनि मन्त्रालको भनाइ छ ।

रोगको संक्रमणबाट पशुपंछी जोगाउन पशु सेवा विभाग मातहतका निकाय, प्रदेश र स्थानीय सरकारले सबै खाले प्रयास गरेको सरकारको दाबी छ । रोगको संक्रमण नियन्त्रणका लागि सातै वटा प्रदेशमा वितरणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भएको र एक लाख ७२ हजार १२८ पशुमा खोप कार्य सम्पन्न भएको पनि सरकारी दाबी छ ।

रोग नियन्त्रणका लागि पशु चिकित्सक परिचालनका लागि १६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सवै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको पनि मन्त्रालयले जनाएको छ ।

रोगको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरुलाई धेरै असर गरेको देखिएको भन्दै मन्त्रालयले त्यस्ता पशुको सुरक्षामा सतर्कता अपनाउन किसानहरुको ध्यानाकर्षण गराएको छ ।

लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ ।

गाईभैंसीमा लाग्ने लामखुट्टे, किर्ना, झिंगा लगायतको टोकाइबाट र पशु उपचार गर्ने क्रममा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् ।

लम्पी स्किन रोगबाट सङ्क्रमित गाईभैंसीको दूध घट्ने, छालामा साह्रा गाँठागुठी देखिने, नाक र मुखमा घाउ आउने, उच्च ज्वरो आउने तथा आँखा र नाकबाट तरल पदार्थ बगिरहने गर्दछ । समयमै उपचार नपाए पशुहरूको मृत्यु हुन्छ ।

लम्पी स्किन पशुबाट मान्छेमा सरेको पुष्टि अहिलेसम्म भएको छैन । सन् २०१७ मा प्रकाशित एफएओको प्रतिवेदनमा लम्पी स्किन रोग (जुनोटिक डिजिज) नभएको उल्लेख गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका