जोडिनुहोस
  • होमपेज
  • सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

सुर्खेत।पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।

सुर्खेत पश्चिमका नागरिकको लाइफ लाइनका रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेकपटक चुनावी नारा बन्थ्यो । तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड २९ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली छाएको छ ।

चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ । ‘यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ’,उनले भने ।

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तीव्रगतिले काम भइरहेको छ । तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डको निर्माण सम्झौता भई तीव्रगतिले काम भइरहेको छ भने खम्बागाडे–विद्यापुर सडकखण्डको काम सुरु हुँदैछ ।

राजमार्गको तीन खण्डमध्ये दुईवटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछ । बाँकी खण्ड बल्देबाट लगामसम्मको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) स्वीकृत भइसकेको छ भने लगामबाट कर्णाली सडकखण्डको आईईई स्वीकृतको चरणमा रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउँछन् ।

उनका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरूको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् ।

जग्गा मुअब्जाका लागि घरटहराको लगत लिने काम भइरहेको उनले बताए । हाल तीनवटै सडकखण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका काम सम्पन्न भइसकेका छन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वबाट पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौरबाट खम्बागाडेसम्मको १३ किलोमिटर सडक तीनवटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन् । हाल यो सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ । यसै खण्डमा पुनःनिर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ ।

यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । तर समयमा रुख कटान आदेश नआउँदा काममा ढिलाइ हुने गरेको छ । यसका लागि कर्णाली प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । वि।सं।२०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडेबाट विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुवर्षीय स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढेको आयोजना प्रमुख आचार्यले बताए ।

विद्यापुरबाट बल्देसम्मको सडकखण्ड २२ किलोमिटर छ । यो सडकखण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको २२ किलोमिटर सडकखण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । राजमार्ग क्षेत्रमा पर्ने रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?