जोडिनुहोस
  • होमपेज
  • प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन; गृहमन्त्री श्रेष्ठ

प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन; गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनुभएको छ । ६८ औँ प्रहरी दिवसका अवसरमा आज सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देशको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र देशको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र नागरिकको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गर्नुभयो । उहाँले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

‘आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो । नवीनतम आविष्कार र नयाँ प्रविधिका कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारुकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्रीले भन्नुभयो, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन । कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरि निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।’

उहाँले शहादत प्राप्त प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नेपाल प्रहरीको निःस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त प्रहरीका परिवारजनको पीडाका क्षणमा सरकार सधैँ साथमा रहने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीका रूपमा साङ्गठनिक छवि उजागरमा केन्द्रित रहन सकल दर्जाका प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाही उत्कृष्ट हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्नुभयो । उहाँले प्रहरी दिवस–२०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको नामावलीका साथै प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषको विवरण पुस्तिकासमेत लोकार्पण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका