जोडिनुहोस
  • होमपेज
  • २५ बर्षपछि एकल साँझमा गुञ्जिदै यम बराल

२५ बर्षपछि एकल साँझमा गुञ्जिदै यम बराल

काठमाडौं – गायक यम बरालको एकल सांगीतिक साँझ हुने भएको छ। कात्तिक १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने भएको हो । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यम बरालले कात्तिक १८ मा काठमाडौंमा एकल साँझ गर्न लागेको जानकारी गराइयो ।

कार्यक्रमलाई लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिन संस्थाले आयोजना गर्न लागेको हो । तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक बरालले झण्डै २५ वर्षपछि एकल साँझ गर्न लागेका हुन् । दुई चरणको प्रस्तुति रहने कार्यक्रमा पहिलो भागमा बरालले सुगम संगीतमा आधारित गीतहरु गाउने र दोस्रो भागमा रमाइला गीतहरुको प्रस्तुति दिने जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा गायक बरालले लायन्स क्लबसँग सहकार्य गर्न पाउँदा हर्षित रहेको बताए । एकल कन्सर्टमा बरालले आफ्ना नयाँ तथा पुराना चर्चित दुई दर्जनभन्दा बढी गीत लाइभ ब्याण्डमा प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

२०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली संगीतमा पाइला चालेका यम बराललाई ‘बादलुको घुम्टो’ गीतले परिचित बनाएको थियो । त्यसपछि बरालले गाएका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, दिलमाया दिलमायालगायत गीत चर्चित छन् । बरालले १०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरेका छन् ।

हालसम्म २ हजार भन्दा बढी गीतमा स्वर दिएका बराल गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार, विभिन्न अवार्डलगायतबाट समेत सम्मानित भइसकेका छन् । ‘यम बराल स् हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’बाट उठेको रकम आयोजक आयोजक लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले सामाजिक कार्यमा लगाउने प्रतिवद्धता समेत जनाएको छ ।

कार्यक्रम अन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र लुलसादेवी फाउन्डेसन, ललितपुरद्वारा सञ्चालित अनाथालयलाई सहयोग गर्ने आयोजकले जनाएको छ । कन्सर्टले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको क्लबकी अध्यक्ष कल्पना बस्नेतले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका