जोडिनुहोस
  • होमपेज
  • मुगु सामूहिक हत्या घटना, पक्राउ परेका दुई जना सार्वजनिक

मुगु सामूहिक हत्या घटना, पक्राउ परेका दुई जना सार्वजनिक

मुगु — मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा– ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।

उनीहरूलाई आज (शुक्रबार) दिउँसो जिल्ला प्रहरी कार्यालय मुगुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्र नगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए । मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए ।

दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हत्याको मुख्य योजनाकार गोपालले गोर्खराज शाहिलाई भेटी मृतकसँग १०—१२ तोला सुन र नगद भएकाले लुटपाट गर्ने सल्लाह गरेका थिए । कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज ६ गते मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए ।

८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित चार जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए ।

घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर त्यसपछि सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए । घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए । यही कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका