जोडिनुहोस
  • होमपेज
  • युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता आज बुधवार इजिप्ट आइपुग्नुभएको छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूह निकट स्रोतले एएफपीसँग बताएको छ ।

यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’ को नेतृत्व गर्दै इजिप्टको भ्रमण गर्नुभएको हो । गएको अक्टोबर ७ मा हमासले गाजाबाट एक्कासी जल, स्थल र हवाई मार्गबाट इजरायली क्षेत्रमा शुरू गरेको आक्रमणमा झन्डै एक हजार एक सय जनाको ज्यान गएको थियो जसमा धेरैजसो सर्वसाधारण थिए र झन्डै दुई सय ५० जनालाई बन्धक बनाइएको इजरायलले जनाएको छ । प्रतिक्रियामा हमासलाई ध्वस्त पार्ने वाचा गर्दै बमबारी र त्यसपछि जमिनी आक्रमणको अभियान शुरु गरेको र यसबाट १९ हजार छ सय ६७ जनाको ज्यान गएको गाजाको हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका छन् ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मङ्गलवार आफ्नो देश ‘बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताउनुभएको छ । यसैबीच प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहादले गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको भिडियो फुटेज सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बुधवार द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको कुटनीतिक स्रोतले बताएका छन् । स्रोतका अनुसार पाठको पछिल्लो संस्करणमा शत्रुतालाई ‘अन्त्य’ गर्न आह्वान गरिएको छ । अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरूले विरोध गरेका थिए । उनीहरूले द्वन्द्वमा फसेका नागरिकलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा सेनाले आफ्नो अभियान विस्तार गरिरहेको बताएपछि अहिले युद्ध जारी छ । ‘हामीले हमासलाई ध्वस्त पार्नुपर्छ र यसका लागि लामो समय लाग्नेछ’, उहाँले भन्नुभयो, ‘अक्टोबरको अन्त्यमा जमिनी कारबाही शुरु भएयता एक सय ३३ जना इजरायली सैनिक मारिएका छन् ।’

गाजा पट्टीमा भएको पछिल्लो इजरायली आक्रमणमा परि कम्तीमा ११ जनाको ज्यान गएको हमासको स्रोतले बुधवार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्सल्यान्डले भन्नुभयो, ‘अकल्पनीय स्तरमा विस्थापन र सक्रिय शत्रुताकाबीच मानवीय सहयोग कार्यक्रम धरापमा परेको छ ।’

गाजावासीले खतरनाक जाडोको सामना गरिरहेका छन् र संयुक्त राष्ट्रसङ्घीय बाल निकायले रोगका कारण हुने बालबालिकाको मृत्यु बमबारीमा मारिएकाहरूको सङ्ख्याभन्दा बढी हुन सक्ने चेतावनी दिएको छ । अमेरिकाले इजरायललाई कडा समर्थन गर्दै गाजामा नागरिकको सुरक्षा गर्न पनि आग्रह गरेको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले मङ्गलवार इजरायललाई हमासविरुद्धको लडाइँमा ‘धेरै सर्जिकल, क्लिनिकल र टार्गेटेड एप्रोच’ अपनाउन आग्रह गर्नुभएको छ । गाजा युद्धले क्षेत्रीय तनाव बढ्ने डर उत्पन्न गरेको छ र इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूसँग घातक सीमापार आक्रमण पनि गरिरहेको छ । यसैबीच यमनको इरान समर्थित हुथी विद्रोहीले प्यालेस्टिनीलाई समर्थन गर्ने क्रममा इजरायलसँग जोडिएको भन्दै ‘रेड सी’बाट पार गर्ने पानीजहाजमा पटक–पटक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् । परिणामस्वरूप प्रमुख पारवबहन फर्महरूले आफ्ना जहाजहरू अन्यत्र फर्काएका छन्, अफ्रिकाको वरिपरि धेरै महँगो मार्ग अपनाएका छन् ।अमेरिकाले सोमवार स्वेज नहरमा जाने जलमार्गको सुरक्षाका लागि नयाँ बहुराष्ट्रिय नौसैनिक कार्यबलको घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका