जोडिनुहोस
  • होमपेज
  • दक्षिण अफ्रिका पुग्यो नेपाल यू १९ क्रिकेट टोली, ४ अभ्यास खेल खेल्ने

दक्षिण अफ्रिका पुग्यो नेपाल यू १९ क्रिकेट टोली, ४ अभ्यास खेल खेल्ने

आईसीसी यू १९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुगेको छ । शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यू १९ विश्वकप क्रिकेट जनवरी १९ माघ ५ गते देखि सुरु हुँदैछ । त्यसअघि नेपाल यू १९ टिमले दक्षिण अफ्रिकामा तयारी गर्नेछ । नेपालले जोहानेसबर्गमा एक साता बिताउनेछ । त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई प्रशिक्षण म्याच खेल्ने क्यानले जनाएको छ । यू १९ विश्वकप अघि नेपालले आईसीसीको कार्यक्रम अनुसार दुई वार्म अप म्याच खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ । नेपालले ८ वर्षपछि यू १९ विश्वकप खेल्न लागेको हो । पछिल्लो पटक नेपालले सन् २०१६ मा बंगलादेशमा भएको यू १९ विश्वकप खेलेको थियो । यू १९ विश्वकप यसअघि श्रीलंकामा गर्ने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि युवा विश्वकप दक्षिण अफ्रिका सारिएको छ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू १९ विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा दक्षिण एसियाका पाकिस्तान र अफगानिस्तानसँगै न्युजिल्याण्ड रहेको छ ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका छ । नेपालले एसीसी यू १९ एसिया कपमा पनि पाकिस्तान र अफगानिस्तानसहित भारतसँग खेलेको थियो । त्यसबेला तीनवटै खेलमा पराजित भएको नेपालले त्यसलाई बिर्सेर दक्षिण अफ्रिकामा उच्च प्रदर्शन गर्ने प्रशिक्षक जगत टमाटाले बताए । नेपालको लक्ष्य सुपर सिक्समा पर्ने रहेको र त्यसका लागि न्यूजिल्याण्ड विरुद्धको पहिलो खेल लागि महत्वपूर्ण हुने उनले बताएका छन् ।

यस पटक यू १९ विश्वकपमा फर्म्याटमा केही परिवर्तन गरिएको छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक समूहको शीर्ष टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्स चरणमा १२ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह ए को शीर्ष तीन र समूह डी को शीर्ष तीन टिम सुपर सिक्स एडी मा पर्नेछ र भने समूह बी को शीर्ष तीन र समूह सी को शीर्ष तीन टिम सुपर सिक्स बीसी मा पर्नेछ । नेपालले समूह डी मा शीर्ष तीनमा रहेमा सुपर सिक्समा समूह ए का भारत, अष्ट्रेलिया र इंग्ल्याण्ड जस्ता टिमसँग खेल्ने अवसर पाउनेछ ।

नेपाली टोली

देव खनाल कप्तान, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द छन् ।

प्रशिक्षक  जगत टमाटा

बलिङ प्रशिक्षक  धीरेन्द्र चन्द

एनालिस्ट  रवि थापा

फिजियो  पुरन तिरुवा

व्यवस्थापक  विक्रम चन्द

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका