जोडिनुहोस
  • होमपेज
  • सुरक्षण मुद्रण केन्द्रको भौतिक निर्माणका काम बजेट अभावमा रोकियो

सुरक्षण मुद्रण केन्द्रको भौतिक निर्माणका काम बजेट अभावमा रोकियो

पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसको भौतिक निर्माणका काम बजेट अभावले रोकिएको छ । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल, ढोका हाल्ने काम रोकिएको हो ।

सूचना–प्रविधि आइटी पार्कका लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि त्यही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । केन्द्रमा आवश्यक गोदाम घरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकाले थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक बलराम चौधरीले बताउनुभयो ।

केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो । अहिले जडित दुई मेसिनबाट वार्षिक ६० करोड वटा अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने चौधरीले जानकारी दिनुभयो । गएको आर्थिक वर्षको ७३ करोड रुपैयाँ बजेटबाट मेसिन तथा केही सूचना प्रविधिका सामग्री खरिद गरिएको थियो ।

२०५७ सालमा निर्माण शुरु गरिएको आइटी पार्क २०६१ सालमा सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल दुई सय ५७ रोपनी जमिनमा रहेको पार्कभित्र दुई ठूला व्यापारिकरप्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीयसहित नौ भवन थिए । तत्कालीन समयमा दक्षिण एसियामा नै नमुना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका