जोडिनुहोस
  • होमपेज
  • धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ११ महिनाको प्रगति

धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ११ महिनाको प्रगति

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पदबहाली गरेको वर्ष दिन पुग्नै लाग्दा हालसम्मको प्रगति सार्वजनिक गरेका छन्। २०७८ फागुनमा अध्यक्षको रूपमा नियुक्त भएका हमालले यो अवधिसम्म भएका कार्य प्रगति १० बुँदामा समेटेका छन्।

उनले आफू विरुद्ध कपोकल्पित र निराधार आरोप लगाउँदै समाचारहरू आएको भन्दै यसलाई निराधार र कपोकल्पित समेत बताएका छन्। यही क्रममा उनले आफ्नो कार्यकालमा भएको कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्। हमालले धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बनाई लागू गरेको, सूचीकृत संस्थाहरू मर्जरमा जाँदा १५ दिनभन्दा बढी धितोपत्र रोक्का नरहने व्यवस्था गरेको लगायतका प्रगति विवरण सार्वजनिक गरेका हुन्।

त्यस्तै, हमालले जारी गरेको प्रेश विज्ञप्तिमा भित्री कारोबार गरेकाहरू र आफ्नै प्रवर्द्धकहरूको कम्पनीको रेटिङ गरिरहेका रेटिङ कम्पनीहरूलाई कारवाहीको दायरामा ल्याएको उल्लेख छ। त्यस्तै, सेयर आवेदन गर्दा लाग्ने आस्वा शुल्क घटाएको, वैदेशिक रोजगारीमा रहेका नेपाली आइपिओमा आरक्षणको व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

नवप्रवर्तन व्यवसायलाई लगानी जुटाइदिने विशिष्टिकृत लगानी कोषको लाइसेन्स दिएको, केही नियमावलीहरू संशोधन गरेको लगायतका प्रगति हमालले सार्वजनिक गरेका छन्। सेयर ब्रोकरको कोटा प्रणालीबाट अनुमति दिने व्यवस्था हटाएर ‘ओपन इन्ट्री ओपन एक्जिट’ नीति लिइएको, अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारको आवेदन कार्य अगाडि बढाएको र वस्तु विनिमय बजारको अनुमति प्रक्रिया अगाडि बढाएकोमा सर्वोच्च अदालतबाट हाललाई यो स्थगित गरिएको पनि उल्लेख गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका