जोडिनुहोस
  • होमपेज
  • वर्षा हुँदा झस्किछन् मनाङवासी

वर्षा हुँदा झस्किछन् मनाङवासी

मनाङ । ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ ।

समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन् । सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए ।

अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए ।

“अलि ठूलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठूलो पानी पर्‍यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ”, उनले भने ।

चामेका फुर्वा लामाले भने, “लामो समयसम्म ठूलो वर्षा भयो भने मन आतिन्छ । कहीँ जानआउन गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ ।”

उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा भने लिन नहुने बताए ।

डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ । “यस सडक खण्डअन्तर्गत हुनसक्ने सुक्खा पहिराका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ,” नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने , “समयानुकूल रुपमा समाधान गर्ने गरेका छौँ ।” उहाँका अनुसार जेठ ११ मा चट्टानसहितको सुक्खा पहिरा खस्दा उक्त सडक अवरुद्ध भएको थियो ।

बर्खायाम वा अन्य समयमा पनि यहाँको यात्रा सहज छैन । बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङवासी, पर्यटक आवतजावतमा समस्या हुने गरेको छ । मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए ।

“बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ । वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ”, उनले भने । मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका