जोडिनुहोस
  • होमपेज
  • साउदी अरब र फेडबीचको खिचातानीको मारमा तेल बजार

साउदी अरब र फेडबीचको खिचातानीको मारमा तेल बजार

काठमाडौं । साउदी अरब र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’बीच खिचातानीका कारण तेलको भाउ दबाबमा छ । फेडले आफ्नो कसिलो मौद्रिक नीतिलाई नत्यागेसम्म तेल बजारमाथिको दबाब कायमै रहने अमेरिकी बहुारष्ट्रिय लगानी बैंक ‘बैंक अफ अमेरिका’को भनाइ छ ।

गएको गर्मीयामको तुलनामा अहिले तेलको मूल्यमा उँधोगतिको प्रवृत्ति देखिएको बैंकका कमोडिटी रणनीतिज्ञ फ्रास्वाँ ब्लान्चको भनाइ छ । गएको गर्मीयाममा तेलको भाउ तीन अंकमा थियो । फेडले मौद्रिक नीतिलाई आक्रामक ढंगले कसिलो बनाउन थालेपछि आर्थिक वृद्धिदर कमजोर हुने आशंका बढ्दा तेलको भाउ झन् झन् घटिरहेको छ ।

यसले तेलको भाउलाई टेवा दिन भनेर साउदी अरब र अन्य प्रमुख तेल उत्पादक देशहरूले गरिरहेको कच्चा तेलको उत्पादन कटौतीको असर उल्टिरहेको छ । अहिले साउदी अरब र फेडबीचको लडाइँले तेल बजारमा उथलपुथल ल्याइरहेको ब्लान्च बताउँछन् । यो शाही युद्धमा मौद्रिक नीति खुकुलो हुन नथाल्दासम्म तेलको भाउ खस्किँदै जाने उनको भनाइ छ ।

मंगलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७४ डलर आसपास थियो । यस वर्षको अहिलेसम्मको अवधिको ब्रेन्टको भाउ ११ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २५ दशमलव ५ प्रतिशत कम हो ।

विशाल परियोजनाका लागि चाहिने खर्च जोहो गर्न साउदी अरबलाई कच्चा तेलको भाउ ८१ डलर आसपास हुनुपर्छ । तेलको भाउलाई टेवा दिन जुलाईदेखि लागू हुने गरी साउदीले दैनिक कच्चा तेल उत्पादन १० लाख ब्यारेलले घटाउने निर्णय गरेको छ । तर, कच्चा तेलको भाउ निर्धारण साउदीको उत्पादन कटौतीले गर्ने छैन ।

वर्षको अन्त्यसम्म तेलको भाउ बढेर प्रतिब्यारेल ८० डलरमा पुग्ने ब्लान्चको प्रक्षेपण छ । त्यो पनि महँगी विस्तारै घट्न थालेर फेडले ब्याजदर वृद्धिको चक्र समाप्तै गर्न सक्ने संकेतका कारण पनि हो । कच्चा तेलको सबैभन्दा ठूलो खपतकर्ता देश चीनको अर्थतन्त्रमा आउने सुधार पनि कच्चा तेलको भाउ वृद्धिमा अर्को कारक हुन सक्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका