जोडिनुहोस
  • होमपेज
  • नागरिकता विधेयक प्रमाणीकरण विवाद : रिट निवेदकको बहस सकियो

नागरिकता विधेयक प्रमाणीकरण विवाद : रिट निवेदकको बहस सकियो

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा रिट निवेदकको बहस सकिएको छ । इजलासले रिट निवेदकका लागि दिएको समय १ बजेभित्रै रिट निवेदकका तर्फबाट बहस सकिएको हो । रिट निवेदकका तर्फबाट रिट निवेदकहरु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, ध्रुव श्रेष्ठ र भद्रप्रसाद नेपालले बहस गरेका छन् ।

अपरान्ह १ बजेबाट महान्यायाधिवक्ता कार्यालयको तर्फबाट बहस सुरु भएको छ । विपक्षी राष्ट्रपतिको कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता सूर्यराज दाहालले बहस सुरु गरेका छन् । इजलासले बहसका लागि ढिलोमा ४ः ३० बजेसम्मको समय छुट्टाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा नागरिकता विधेयकसम्बनधी सुनुवाइ भइरहेको छ ।

बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट बिहान ११ः २५ बजेदेखि अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको थियो । त्यसै गरी सरकारी वकिललाई बहस गर्नका लागि अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समयमा पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् । उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ ।

सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । ढिलोमा ४ः ३० बजेसम्ममा बहस सक्न न्यायाधीश भट्टराईले सर्कुलर जारी गरेका छन् । बिहान ११ः २५ बाट सुरु भएको सुनुवाइ सकेर आजै आदेश गर्ने इजलासको तयारी छ ।

पूर्ववर्ती सरकारले पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेकोमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपति पौडेलले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका