जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

यस्तै, उनीहरू बीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो ।

सो अवसरमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बङ्गलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण समेत बनेको छ । यस्तै, नेपाल र बङ्गलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदान प्रदान समेत भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका