जोडिनुहोस
  • होमपेज
  • पर्वतको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

पर्वतको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव भैरहेको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा हिजोदेखि उत्सव शुरु भएको हो । लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले दुई दिने उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

नेपालमा विगत दश वर्ष अघिदेखि लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ । प्रकृतिका साथीहरु संस्थाले ४६ जिल्लामा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक २ हजार लाटोकोसेरो विदेश चोरी निकासी हुने पाइएको छ । अवैध व्यापारले लाटोकोसेरो हुचिल, हाप्सिलोलगायतका लाटोकोसेरो संकटापन्न अवस्थामा पुगेका संरक्षणकर्मीको भनाइ छ । ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव हुँदै गएको छ । त्यस्तै आधुनिक घर बनाउने क्रम बढेसँगै खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने पक्षीलाई समस्या परेको छ ।

सुरक्षित आहाराको कमी, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो जस्ता पन्छी लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइने गरेको र तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।

लाटोकोसेरोले मुसा खाएर किसानको बाली जोगाउन भूमिका खेल्छ । त्यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङ्जा र कैलालीमा संरक्षण उत्सव गरिएको थियो । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका