जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छ : रवि लामिछाने

गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे ।

‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’

यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।

यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’

भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए । ‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका