जोडिनुहोस
  • होमपेज
  • डेंगु परीक्षणमा एकरुपता कायम गर्न सरकारद्धारा शुल्क निर्धारण समिति गठन

डेंगु परीक्षणमा एकरुपता कायम गर्न सरकारद्धारा शुल्क निर्धारण समिति गठन

काठमाडौं । पछिल्लो समय डेंगुको प्रकोप व्यापक रुपमा बढ्दै गएको बेला डेँगु परिक्षणका क्रममा प्रयोगशालाहरूले मनमानी ढङगले विरामीहरुबाट बढी शुल्क लिएको गुनासो बाहिर आएपछि डेँगु परिक्षणको शुल्कमा एकरुपता कायम राख्नका लागि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति गठन गरेको छ । परीक्षण शुल्कमा वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमन गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दिएको निर्देशन अनुसार बुधबार गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो ।

उक्त समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, व्यवस्थापन माहाशाखा र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का पदाधिकारी तोकिएको छ। स्वास्थ्यमन्त्रीले अनुगमन गरेर एक हप्ताभित्रैमा रिर्पोट पेश गर्न निर्देशन दिएका छन्। अबको एक हप्तासम्ममा शुल्क निर्धारण हुने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कारबार्ही समेत हुने जनाइएको छ । अधिकारीका अनुसार कीटको मूल्य र अन्य खर्च जोड्दा ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने अनुमान छ ।

यस अघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका थिए । । उनीहरुले डेँगु परिक्षणमा प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति गठन गरेको स्रोतले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जुलाई यता १३ जना संक्रमितको मृत्यु भइसकेको छ भने १७ हजार भन्दा बढी संक्रमितको संख्या छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका