जोडिनुहोस
  • होमपेज
  • विभिन्न नाम र बाहनामा सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क हुनुपर्छः उपप्रधानमन्त्री खड्का

विभिन्न नाम र बाहनामा सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क हुनुपर्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनु पर्ने बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं। ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उहाँले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्व प्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक शक्तिहरु समेत  सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
सदयौँदेखि देशमा बिभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाती, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएको बताउदै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाड्ने काम कहिकतैबाट हुनु नहुनेमा जोड दिनुभयो ।
“देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाती, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्धन्द्ध छैन,” उपप्रधानमन्त्री एवम्  रक्षामन्त्री खड्काले भन्नुभयो, “यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको बिकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”
संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै बिकासको अभियानलाई फूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
जनप्रतिनिधिलाई कुनैपनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भन्नुभयो, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डर मुक्त हुन्छ, भय मुक्त हुन्छ, अनि त्यसबाट ताकत आएँछ तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ हो, त्यही अभियानमा हिँड्नु पर्छ ।”
देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको र  सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नहरेको भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल बजेट सुधारका लागि लागिरहनु भएको र सरकारले आर्थिक उन्नतिको बिकासमा लागेकाले यो समस्या धेरै नरहने बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धी हासिल गर्दै जनताकै मतबाट निर्वाचित भएर आएका हौँ, जनताको मौलिक हक, अधिकार, बिकासका लागि समीक्षा गर्दै संविधानको कार्यान्वयनसँगै जनताबाटै चुनिएर सरकार, संसदमा, प्रदेशमा र स्थानीय तहमा आएको हौ भन्ने हेक्का सधै राख्न जरुरी छ ।”
उहाँले छालिङ्ग जाने सडकको बिस्तारदेखि स्मार्ट सिटीको निर्णय नहुँदा जनताको परेको समस्याकाबारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याको निकास निकाल्न पहल गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका