जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ उपत्यकाबाट ३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौँ उपत्यकाबाट ३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिए

नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।

उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् । ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,” उनले भने ।

दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका