जोडिनुहोस
  • होमपेज
  • काठेपुलले जोडिँदै शे-फोक्सुन्डो ताल

काठेपुलले जोडिँदै शे-फोक्सुन्डो ताल

जाजरकोट । शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ ।

अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् । ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ । जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा दुर्घटनाको सम्भावनासमेत हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताए ।

डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ । सुलिगाडबाट पैदल हिँडेर तालसम्म दुई दिनमा पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्गसमेत भरपर्दो भएमा आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्ला वर्षमा तालसम्म पुग्नका लागि धेरैको चासो बढेको छ ।

फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ रिग्मोगाउँ नजिकै रहेको छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल चार दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ एक सय ४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार छ सय ५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटक–पटक रङ परिवर्तन गर्ने यस ताल अङ्ग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अङ्ग फोक्सोजस्तो पनि देखिन्छ ।

फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाका लागि भनेर भेरिवा वा खोलाको एक किनाराबाट अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ ।

डोल्पाका अधिकांश खोलानालामा झोलुङ्गे पुल निर्माण जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगाडबाट फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झोलुङ्गे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का वडाध्यक्ष निमा लामाले बताउनुभयो । उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

पदमार्गका बीच–बीचमा होटल तथा अन्य सुविधा भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका