जोडिनुहोस
  • होमपेज
  • भूकम्प प्रभावितको ‘खोजी, उद्धार र उपचार’मा सम्पूर्ण संयन्त्र परिचालित

भूकम्प प्रभावितको ‘खोजी, उद्धार र उपचार’मा सम्पूर्ण संयन्त्र परिचालित

सरकारले भूकम्पबाट प्रभावितको ‘खोजी, उद्धार र उपचार’मा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ गरी कुल एक सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। भूकम्पमा परी तीन सय ७५ जना घाइते भएका छन्।

घटनाबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्। सामान्य घाइतेको स्थानीय तथा जिल्ला अस्पताल र गम्भीर घाइतेको काठमाडौँ, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुगेका थिए। सो क्रममा उनले पीडित परिवारसँग भेटघाट गर्नुभएको थियो। प्रधानमन्त्री दाहालले सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच–पाँच करोड तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थानको विशेष तालिमप्राप्त टोली प्रभावितस्थलमा पठाउने भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका