जोडिनुहोस
  • होमपेज
  • साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।

गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ६९ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ३९ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए । यस्तै, ८० उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ११ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु-याएर देशनिकाला गरिने जनाएको छ । हाल ५२ हजार ३ सय ६९ जना कानुन उल्लंघनकर्ता अहिले नियम उल्लंघन गर्ने प्रक्रियाको अधीनमा छन्, जसमध्ये ४६ हजार ४ सय ३१ पुरुष र ५ हजार ९ सय ३८ महिला छन् ।

तीमध्ये ४६ हजार ७ सय ४३ उल्लंघनकारीलाई यात्रा कागजात प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको छ भने १ हजार ७ सय १६ उल्लंघनकर्तालाई यात्रा अनुमति लिएर स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ । अहिलेसम्म ९ हजार १ सय ४७ उल्लंघनकारीलाई देशनिकाला गरिसकिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका