जोडिनुहोस
  • होमपेज
  • सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ

सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ

दाङ– दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो।

घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी शुक्रबार बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए।

बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरुवा बन्दुक उपलव्ध गराउने मेघराज कुँवर रहेका छन्।

प्रारम्भिक अनुसन्धानबाट मृतक केसीको दीपासँग अनैतिक सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ। पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए। तर बेलुका दीपा मात्रै घर फर्किइन्। शिवराज घर नफर्किएपछि उनका आफन्तले दीपासँग सोधपुछ गरेका थिए। दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन्।

त्यसपछि १० गते शिवराजका दाइ डम्बर केसीले खोजतलासका लागि प्रहरीमा निवेदन दिए। दीपाले १३ गते छोराछोरी लिएर भारत जाने तयारी गरिन्। त्यसलगत्तै डम्बरले दीपाले नै केसीलाई लुकाएर राखेको भन्दै पुनः प्रहरीमा निवेदन दिए। प्रहरीले खोजतलास गर्दै जाँदा पुस १२ गते भुमेबरा सामुदायिक वनको रुकधने कोइला खानीमा शिवराजको शव फेला पर्यो।

मृतक केसीका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या भएको प्रहरीको भनाई छ।

प्रहरीले १५ गते स्थानीय मेघराज कुँवरको घरबाट एक नाल बन्दुक, बन्दुकमा प्रयोग हुने १०८ थान छर्रा, दुई थान गोली, लाम्चो आकारका ३९ थान गोली, बारुद ७५ ग्राम, केप ५ थान र हरियो कपडाको लत्ता एक थान बरामद गरेको थियो। हातहतिरयारसहित मेघराजलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका