जोडिनुहोस
  • होमपेज
  • पर्यटकका रोजाइमा खरको छानोको घर

पर्यटकका रोजाइमा खरको छानोको घर

चितवन । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् ।

इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पुर्‍याएनन् । उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए । पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मत सम्भार गर्नतर्फ लागेका छन् । फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मत सम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन् ।

घरधनी गुरुङले भने, ‘भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।’ यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ ।

स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । फिस्लिङ–शक्तिखोरको कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ । एकपटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं– २ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन् । घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् ।

यहाँ पर्यटकको चहलपहल हुन थालेकोे धेरै भएको छैन । स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पथ्र्यो । तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो । केही वर्षयता फिस्लिङ– शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो ।

उनले भने, ‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् ।’ ‘घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो । तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थालेका छन् ।’

वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानियको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन् । अध्यक्ष चेपाङले भने, ‘सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छनै स्थानीयले उतपादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ ।’

काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन् । यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् । यो बाटो पृथ्वी राजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका