जोडिनुहोस
  • होमपेज
  • तोरीखेती गर्ने किसानलाई महानगरको अनुदान

तोरीखेती गर्ने किसानलाई महानगरको अनुदान

हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिएका छन् । महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए ।

महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ छ ।किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् । तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताए । कात्तिकमा लगाएको तोरी माघ(फागुनभित्रमा किसानले भित्र्याइसक्ने उनको भनाइ छ । उनले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका