जोडिनुहोस
  • होमपेज
  • १ सय २१ वर्षीय वृद्धा बाटुलीको निधन, अधुरै रह्यो गिनिजबुकमा लेखाउने अभियान

१ सय २१ वर्षीय वृद्धा बाटुलीको निधन, अधुरै रह्यो गिनिजबुकमा लेखाउने अभियान

नुवाकोट।विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ । आगामी चैत्र १० गते उनले आफ्नो १२२ औं जन्मदिन मनाउँदै थिइन् ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२१ वर्षिया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको नाम गिनिज वुकमा लेखाउने अभियान रोकिएको छ ।

उनलाई विश्वकै ज्येष्ठ नागरिक भएको दावी गरिएको छ । लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको परिवारजनको दावी रहेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड छ ।

उनलाई गाउँमा घर बनाइएको छ भने पूर्व प्रदेश मन्त्रि तथा सांसद एवं स्थानीय तहको पहलमा मासिक रुपमा नियमित भत्ता उपलब्ध गराइएको थियो ।सामान्य विरामी रहेकी बाटुलीले तीन दिन अगाडीदेखि सामान्य खानेकुरासमेत खान छाडेकी थिइन् । वृद्धाको अक्सिजनको मात्रासमेत कमी भएको थियो । उनको आफ्नै निवासमा शुक्रवार बुलुकी निधन भएको पनाती श्या ढुंगानाले जानकारी दिनुभयो । वृद्धा बाटुलीको इच्छाअनुसार गएराती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

दिवंगत वृद्धा बाटुलीको पार्थिव शरिरमा उनका ८२ वर्षिय छोरा नेत्रप्रसाद लामिछानेले दागवत्ति दिनुभयो । बाटुलीका दुई छोरा र तीन छोरीमध्ये हाल नेत्रप्रसाद मात्र जिवित रहेका छन् । वृद्धा बाटुलीलाई विश्व रेकर्डमा नाम लेखाउन विभिन्न क्षेत्रवाट प्रयास गरिएपनि लेखाउन सकिएको थिएन ।

उनलाई सरकारीस्तरवाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ । वृद्धालाई भेट्न सरकारीस्तरका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सयौं सर्वसाधारण उनको घर ककनीको मकैचौर पुगेका थिए ।

विसं १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक वांसवारी गाविस(१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखवाट जन्मिएकी वृद्धा वाटुली नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गापा ८ छापथोकमा छविलाल लामिछानेसंग विवाह गरेर आएको अभिलेखमा उल्लेख रहेको छ । हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनाती छन् ।

यसअघि, ‘जीवित देवी’को उपमा पाएकी नुवाकोटकी वृद्धा बाटुली लामिछाने आगामी चैत्र १० गते १२२ औं जन्मदिन मनाउने क्रममा थिइन् ।बाटुलीलाई २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका