जोडिनुहोस
  • होमपेज
  • आज देशभर वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा मनाइँदै

आज देशभर वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा मनाइँदै

काठमाडौँ । आज देशभर वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनको भिडभाड रहेको छ । विशेष गरेर शिक्षक तथा विद्यार्थीहरुको शक्ति पिठमा ठूलो भिड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका