जोडिनुहोस
  • होमपेज
  • विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् ।

सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले संसद्‌मा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसद्‌मा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘विधेयक संसद्‌मा विचाराधीन रहेका कारण शिक्षक-कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड युनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ-संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’

प्रधानमन्त्रीले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

उनले भने, ‘विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा पनि महत्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध संगठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’

कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका वक्ताहरूले मञ्च समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका