जोडिनुहोस
  • होमपेज
  • कैलालीका किसान आलु खेतीतर्फ आकर्षित

कैलालीका किसान आलु खेतीतर्फ आकर्षित

अत्तरिया– स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा कैलालीका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।

माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले विकासेभन्दा स्थानीय जातको आलुको माग बढी भइरहेकाले यसलाई व्यावसायिकरूपमा गर्न थालिएको बताए ।

उनले यस वर्ष सात कठ्ठामा आलुखेती गरेको बताए । ‘मैले पहिले टिपीएस, कार्डिनललगायतका आलु पनि लगाउँथे । यस वर्ष थारु आलु मात्रै लगाएको छु’, चौधरीले भने, ‘थारु आलुको माग पनि बढेको छ । खान पनि स्वादिलो हुन्छ, त्यसैले यसको उत्पादनमा जोड दिएको छु ।’ उन्नत जातका आलु हाल बजारमा प्रतिकिलो २५ रुपैयाँ देखि ३० मा बिक्री हुने भन्दै थारुआलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

यस वर्ष २५ क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उनले भने, ‘यस वर्ष १५ क्विन्टल जति बिक्री गर्छु । अरु आफूलाई खान र बीउका लागि राख्छौँ । असारसम्म बिक्री गर्छौँ । त्यो बेला मूल्य अझ बढी हुन्छ । प्रतिकिलो ८० रुपैयाँ देखि एक सयसम्ममा बिक्री हुन्छ ।’ धनगढीमा रहेको हाटबजारमा सहजै बिक्री हुने भन्दै काठमाडौँबाट पनि माग आइरहेको बताए ।

‘आलु खनेर निकालेपछि यो सिजनमा फल्ने तरकारी लगाउँछु । तरकारी खेतीबाटै चार जनाको परिवारको खर्च, छोराछोरीको पढाई लेखाइ सबै चलाएको छु’, चौधरीले भने । उनका अनुसार सबै खर्च कटाएर थारु आलु तथा अन्य तरकारीबाट वार्षिक तीन लाख रुपैयाँसम्म बचत भइरहेको छ ।

खानमा स्वादिलो, कम बिग्रिने, भण्डारण गर्न सजिलो हुने भएकाले पछिल्लो समय किसानले रैथाने ९थारु० आलु लगाउन थालेका स्थानीय पदीराम चौधरीले बताए ।

उनले आठ कठ्ठा आलुखेती गरेको बताउँदै करिब २५–२६ क्विन्टल उत्पादन भएको बताए । ‘अहिले बिक्री सुरु गरेका छौँ । १२ देखि १५ क्विन्टलसम्म यस वर्ष बिक्री गर्छौँ’, उनले भने, ‘बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।’

थारु आलु घरमै लामो समय भण्डारण गरेर राख्दा नबिग्रिने पदीरामले बताए। गोबरमलको प्रयोग हुने भएकाले स्वास्थ्यका लागि थारु आलु राम्रो हुने भन्दै बजारमा यसको माग बढ्न थालेको उनको भनाइ छ ।

सोही ठाउँका स्थानीय फूलीराम चौधरीले यस वर्ष तीन कठ्ठामा आलुखेती गरेको बताए । उनले भने, ‘यस वर्ष १० क्विन्टल जति उत्पादन भएको थियो । पाँच क्विन्टल आलु हाटबजारमा लगेर बिक्री गरिसकेँ, बाँकी आफ्नो परिवारका लागि तरकारी र बीउका लागि राखेका छौँ ।’ बीउका लागि कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित शीतभण्डारमा लगेर राख्ने गरेको उनले बताए ।

सोही ठाउँका वीरेन्द्र चौधरीले पनि पाँच कठ्ठामा आलुखेती गर्दै आएको बताए । ‘पहिले विकासे जातको आलु पनि लगाउँथ्यौँ । अहिले थारुआलुलाई जोड दिएका छौँ । यस वर्ष १५ क्विन्टल उत्पादन भएको छ’, उनले भने, ‘पुर्खौँदेखि लगाउँदै आइएको रैथाने आलु लगाउन छोडिँदै गएको थियो । यसको मागसँगै मूल्य पनि बढी भएकाले फेरि किसानले लगाउन थालिएका छन् ।’

शान्तिटोलका करिब ५० किसानले थारु आलु खेती गर्दै आएका स्थानीयको भनाइ छ । थारु आलु संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गरिने धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागिराम चौधरीले बताए ।

‘रोग कम लाग्ने, थोरै जग्गामा लगाउँदा उत्पादन धेरै हुने, खानमा स्वादिलो, लामो समयसम्म राख्दा नबिग्रिने थारु आलु संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ’, उनले भने, ‘उन्नत जातको आलुको तुलनामा यसले कम मेहनतमा बढी उत्पादन दिन्छ ।’ यसको प्रवर्द्धन, खेती विस्तार गर्न आवश्यक भएको स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ ।

आलु प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँका किसानलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको जिल्लास्थित केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार केन्द्रले चालु आवमा जिल्लाका विभिन्न ठाउँमा ४२ हेक्टर जग्गामा थारु आलु खेतीका लागि ७१ किसानलाई अनुदान, बीउ बिजन, विषादी, स्प्रे, सिँचाइलगायतमा अनुदान दिएको छ ।

सो क्षेत्रबाट १० हजार क्विन्टल बढी थारु आलु उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका