जोडिनुहोस
  • होमपेज
  • भारतले नेपाललाई दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

भारतले नेपाललाई दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।

भारतीय राजदूतावास, काठमाडौंमा आयोजित एक समरोहीबच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका छन्।

विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो।

भारतले नेपाललाई दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ।

समारोहमा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल(भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए।

उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको जानकारी दिए।

लामो इतिहास र विरासत बोकेको र नेपालका धेरैजसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले बताए।

सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। उनले ती परियोजनाले दुई देशबीचको जनता(जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए।

मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे।

सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघसंस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ।

यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गदै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका