जोडिनुहोस
  • होमपेज
  • देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं—  १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाइँदै छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदै छ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

मजदुरहरूले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो । प्रहरीको दमनमा गोली लागि आन्दोलनरत सात जना मजदुरको पनि मृत्यु भयो ।

प्रहरी दमनले त्यो आन्दोलन रोकिएन । झन् झन् चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घण्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार वर्षपछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको  संयुक्त बैठक बस्यो । सो बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालको विराटनगरमा वि.सं.२००७ मा पहिलो मजदुर आन्दोलन भएको थियो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका