जोडिनुहोस
  • होमपेज
  • बजार महंगी अझै नियन्त्रणमा आएन, खाद्यान्न तथा पेय पदार्थको मूल्य उच्च

बजार महंगी अझै नियन्त्रणमा आएन, खाद्यान्न तथा पेय पदार्थको मूल्य उच्च

काठमाडौँ । तीव्र आर्थिक समस्याका बीच बढेको बजार महंगी अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४६ प्रतिशतको विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यस्तो उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

त्यसो त अघिल्लो महिनाको तुलनामा यो महिना बजार महंगीमा केही सुधार आएको समेत बैंकको तथ्याङ्कले देखाएको छ । चैत मसान्तसम्म यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहतर्फ २६.६१ प्रतिशतले बढेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।

यसैगरी रेस्टुरेन्ट तथा होटल तर्फको मुद्रास्फीति १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निचर तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा क्षेत्रगत रूपमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति ७.६८ प्रतिशत रहेको छ भने तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको बैंकले जनाएको छ । थोक मूल्यका आधारमा २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य वृद्धि २.६८ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका