जोडिनुहोस
  • होमपेज
  • लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं । तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ ।

बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरे पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ ।

‘इन्ट्रा–डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट ४६ अंक भन्दा माथिले वृद्धि भई २०६७.१० अंकको उच्च विन्दु कायम गर्दा २०१५.१९ अंकसम्म झरेको थियो । करिब ५२ अंकको उतारचढाव भएको नेप्सेमा होटल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, लगानी निर्जीवन बीमा व्यापार उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त र जीवन बीमा उपसूचकमा वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेर बन्द भएको हो ।

बुधबार अन्य उपसूचक सर्वाधिक २.३५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.७३ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५८ प्रतिशत र बैंकिङ उपसूचक १.२९ प्रतिशतले वृद्धि भएका छन् । विकास बैंक उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक र व्यापार उपसूचक ०.७७ प्रतिशत गिरावट भएको छ ।

नेप्से मात्रै नभएर कारोबार रकम पनि पछिल्लो केही दिन यता लगातार बढ्दै गएको छ । मंगलबार ५ माघ २०७९ यताकै बढी रकमको कारोबार भएकोमा बुधबार थप बढेर ५ अर्ब नाघ्दा २८ पुस यताकै उच्च रकमको कारोबार पुगेको छ । बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार शिवम् सिमेन्टका सर्वाधिक २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २४ करोड ३४ लाख र नेपाल लाइफको १४ करोड ५६ लाखको कारोबार भएको छ । बुधबार दिनभर नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ९१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये खप्तड लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत र सिटी होटलको सेयरमूल्य ९.९५ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै भूगोल इनर्जीको सेयरमूल्य ७.५२ प्रतिशत र आदर्श लघुवित्तको सेयरमूल्य ७.५२ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले गिरावट हुँदा मोलुङ हाइड्रोपावरको ५.०४ प्रतिशत र शुभम् पावर कम्पनीको सेयरमूल्य ४.३१ प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका