जोडिनुहोस
  • होमपेज
  • ३ हजार गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप

३ हजार गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप

चितवन । चितवनका ३ हजार तीन सय ८० गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाइएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा। रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०, रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । खोप खरिदका लागि कार्यालयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उनले जानकारी दिए ।

प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो । आचार्यले भने, ‘सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन । अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ ।’

कार्यालयमा बजेट नहुँदा कृषक आफैँले खोप खरिद गरेका हुन् । अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन् । कार्यालयले अहिलेसम्म पाँच हजार गाई भैँसीलाई औषधि वितरण गरेको उनले जानकारी दिए । रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिर कोन जस्ता औषधि वितरण गरिएको छ ।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उनले जानकारी दिए । रोग के हो रु रोग नियन्त्रण कसरी गर्ने रु र यसका औषधिका बारेमा जानकारी दिइएको आचार्यले बताए ।

लम्पीस्किनका कारण गाई भैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । जिल्लामा हालसम्म चार हजार एक सय गाई भैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।

गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्छ ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका