जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाई र युवा संघको प्रदर्शनका कारण काठमाडौंका सडक सुनसान

दुर्गा प्रसाई र युवा संघको प्रदर्शनका कारण काठमाडौंका सडक सुनसान

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज प्रदर्शन गर्दैछन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । संघको नेतृत्व एमाले नेता महेश बस्नेतले गर्ने छन् ।

दुई समूहको जनप्रदर्शन हुने दिन बिहीबार सडकमा अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । जसकारण बिहीबार बिहानैदेखि काठमाडौंका मुख्य मुख्य सडक, चक्रपथ सुनसान बनेका छन् । फाट्टफुट्ट गाडी गुडेका छन् । चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिँदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । २०६२–६३ को आन्दोलनपछि सरकारले १० हजार सुरक्षाकर्मी सडकमा खटाएको सम्भवतः यो नै पहिलोपटक हो ।

सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ । सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी छन् । प्रदर्शन हुने स्थानको सुरक्षार्थ ड्रोन क्यामेरा परिचालन गरिनेछन् ।

नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन हुनेछन् । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुस निगरानीमा रहनेछन् । कार्यक्रमस्थलमा र नारा–जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाकका सुरक्षाकर्मी पनि खटिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका