जोडिनुहोस
  • होमपेज
  • नेपालले वर्षाका कारण २ खेल खेल्नै पाएन, समूह चरणबाटै बाहिरियो

नेपालले वर्षाका कारण २ खेल खेल्नै पाएन, समूह चरणबाटै बाहिरियो

काठमाडौं । हङकङमा भइरहेको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिन पुग्यो । समूह चरणमा हुनुपर्ने तीनमध्ये दुई खेल वर्षाका कारण अवरुद्ध भएको र एक खेलमा पराजित भएका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार तय भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण अवरुद्ध भएपछि नेपालको अघिल्लो चरणमा जाने सम्भावना नै रहेन ।

यो प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपालले थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि अन्तिम समयमा अवसर पाएको थियो । एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेष्ट मान्यताप्राप्त देशको ए टिम सहभागी हुने यस प्रतियोगिता नेपालका लागि आफ्नो स्तर थाहा पाउने र एक्सपोजर लिने अवसर थियो ।

तर समूह ए मा पाकिस्तान ए सँग पहिलो खेलमा ९ रनको पराजय ब्यहोरेको नेपालले भारत ए सँग निर्धारित दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएपछि खेल्न पाएन । पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै पाकिस्तान ए टोलीलाई ८७ रनमा अलआउट गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको थियो ।

तीन खेलबाट नेपाल र हङकङले समान २ अंक जोडे र समूह चरणबाट बाहिरिए । शनिबार तय भएको भारत ए र पाकिस्तान ए को खेल पनि रद्द भयो । समूह ए बाट भारत ए र पाकिस्तान ए ले सेमिफाइनलमा स्थान बनाए । यस्तै समूह बी बाट श्रीलंका ए र बंगलादेश ए ले सेमिफाइनलमा स्थान बनाउँदा युएई र मलेसिया समूह चरणबाटै बाहिरिए । सेमिफाइनलका खेलहरु जुन १९ र फाइनल जुन २१ मा हुनेछ ।

वर्षाका कारण प्रतियोगिताका धेरै खेल प्रभावित बने । जसले गर्दा एसोसिएट टिमले टेष्ट टिमसँग धेरै खेल खेल्ने अवसर पाएनन् ।

नेपालले केही समयअघि मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्दै ११ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो । अन्तिम समयमा इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर पाउँदा नेपालले त्यही टोलीलाई निरन्तरता दिँदै हङकङ खेल्न गएको थियो ।

यस प्रतियोगितालाई नेपालले आगामी अगष्ट-सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीको रुपमा लिएको थियो । तर एक खेल मात्र खेल्न पाएको नेपालले सोचेजस्तो प्रदर्शन गर्ने र एक्पोजर लिने अवस्था भने रहेन ।

मलेसियामा हुने विश्वकप छनोटमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली मात्र ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका