जोडिनुहोस
  • होमपेज
  • ५२ अंकले वृद्धि हुँदा ४ महिना यताको उच्च विन्दुमा नेप्से

५२ अंकले वृद्धि हुँदा ४ महिना यताको उच्च विन्दुमा नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार ९ दिनसम्म वृद्धि हुँदा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ ।

१५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक नेप्से २३ जेठयताको लगातार ९ कारोबार दिनमा वृद्धि हुँदा २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । पछिल्लो ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से १९२.३४ अंकले वृद्धि भइसकेको छ ।

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्दै गएको छ । १ अर्ब पनि कारोबार नभइरहेको बजारमा पछिल्लो केही दिन यता लगातार बढेर गत बुधबार ५ अर्ब माथिको कारोबार भएको थियो । आइतबार पनि करिब ५ अर्ब नजिकको कारोबार भएको छ । आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा नेप्से २.५६ प्रतिशतले बढेको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२९ प्रतिशतको गिरावटका बाबजुत पनि नेप्से साढे २ प्रतिशत भन्दा माथिले बढेको हो ।

आइतबार नेप्सेमा जीवन बीमा उपसूचक ६.३८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ६.१५ प्रतिशत र अन्य उपसूचक ६ प्रतिशतले बढेको छ ।

नेप्सेमा कारोबार रकम बढ्दै जाँदा शिवम् सिमेन्टको सर्वाधिक ३६ करोड ६५ लाखको सेयर कारोबार भएको छ । यस्तै आईएमई जनरल इन्स्योरेन्सको करिब १६ करोड ९४ लाखको कारोबार हुँदा सोल्टी होटलको १६ करोड ६६ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर छ ।

जसमध्ये नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर लिमिटेड, सुपर माइ हाइड्रोपावर आत्मनिर्भर लघुवित्त र मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटी होटलको सेयरमूल्य ९.९६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य भने ५.५८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका