जोडिनुहोस
  • होमपेज
  • घोराही सिमेन्टका लगानीकर्ताको रकम १० दिनदेखि ब्लक, आवेदन रद्द गर्न चाहनेले पैसा फिर्ता पाउने

घोराही सिमेन्टका लगानीकर्ताको रकम १० दिनदेखि ब्लक, आवेदन रद्द गर्न चाहनेले पैसा फिर्ता पाउने

काठमाडौँ । प्रिमियम मूल्यमा शेयर (आईपीओ) मा आवेदन दिएका घोराही सिमेन्टका लगानीकर्ताको विगत १० दिनदेखि रकम ब्लक छ । कतिपय लगानीकर्ता आवेदन क्यान्सिल गर्ने पक्षमा देखिएका छन् । तर कसरी रद्द गर्ने भन्ने चासो उनीहरुमा देखिन्छ ।

नेपाल धितोपत्र बोर्डले यदि कोही आवेदकले आईपीओ रद्द गर्न चाहेमा बाँडफाँट अगावै रद्द गर्न सक्ने बताएको छ । यद्यपि आगामी साता अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा देखिएको बोर्डले सोही प्रतिवेदनको आधारमा आईपीओ रद्द गरेर पुन खुलाउने वा अन्य विकल्प अपनाउने भन्ने विषय निर्धारण गर्नेछ ।

बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको पैसा अहिलेसम्म उनीहरूकै खातामा रहेकोले नआत्तिन समेत आग्रह गरेका छन् । यदि उनीहरूले आईपीओ नचाहेमा फिर्ता लिन सक्ने गरी व्यवस्था गर्न अध्ययन समितिलाई भनिएको हमालले बताए ।

घोराही सिमेन्टको आईपीओमा जालसाजी भएको हो कि होइन भनेर अध्ययन गर्नका लागि धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको एक साताभन्दा बढी भएको छ । धितोपत्र बोर्डको सुपरिवेक्षण महाशाखा प्रमुख को संयोजकत्वमा ४ सदस्यीय अध्ययन समितिले अध्ययन गरिरहेको सुपरिवेक्षण तथा नियमन विभागका प्रमुख विनयदेव आचार्यले जानकारी दिए ।

महँगो मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको आईपीओ निष्काशन धितोपत्र बोर्डले असार ४ गते स्थगित गरेको थियो । आज असार १४ गते भइसक्दा पनि लगानीकर्ताको रकम ब्लक नै छ । ब्लक भएको रकम कसरी फुकुवा गर्ने भन्ने चिन्तामा लगानीकर्ता देखिएका छन् ।

सीडीएसीको तथ्यांक अनुसार आईपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा १० अर्ब ९९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यो भनेको ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रिमियम मूल्य सहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आईपीओ जारी गरेको हो ।ती आवेदन मध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ताका लागि परेको आवेदन फर्जी भेटिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सेयर मूल्य ४ सय ३५ रुपैयाँलाई आधार मान्दा ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको देखिन्छ । यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ ।

केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेर नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो ।

असार ४ गते निष्काशन गरेको भन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले फेरी १४ गतेसम्म समय थप गरेको थियो । अत्यधिक आवेदन पर्दा पनि न समय थपिएपछि कम्पनीको नियतमाथि नै शंका उब्जिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका