जोडिनुहोस
  • होमपेज
  • मलेसियालाई हराउदै नेपाल समूह विजेता

मलेसियालाई हराउदै नेपाल समूह विजेता

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए ।

मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन् । आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नरेन भट्टले ४३ बलमा २९ रन बनाए ।

९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो ।

नवौ विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २/२ तथा मोहम्मद फतुलले १ विकेट लिए ।

जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । तीन टोली रहेको समूहबाट पहिलो खेलमा जित दर्तासँगै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका