जोडिनुहोस
  • होमपेज
  • लम्पी स्किन रोग नियन्त्रणका लागि प्रत्येक स्थानीय तहलाई एक लाख रुपैयाँ विनियोजन

लम्पी स्किन रोग नियन्त्रणका लागि प्रत्येक स्थानीय तहलाई एक लाख रुपैयाँ विनियोजन

काठमाडौं । पशु सेवा विभागले लम्पी स्किन रोग नियन्त्रणका लागि प्रत्येक स्थानीय तहलाई एक लाख रुपैयाँ विनियोजन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै लम्पी स्किन रोग नियन्त्रणका लागि प्रत्यके स्थानीय तहलाई एक लाख रुपैयाँ विनियोजन गरेकाे जानकारी दिएकाे हाे ।

चालु आर्थिक वर्ष २०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र संक्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्लेले जानकारी दिइन्।

सो रकमबाट यथासिघ्र औषधी उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकाहरुलाई विभागले अनुरोध गरेको छ ।

याे रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरु परिचालित गरिएकाे महानिर्देशक काफ्लेले बताइन् ।

पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना सहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ । प्रभावित पशुको उपचारको लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्था सहित प्राविधिक परिचालन गरिएको विभागले जनाएकाे छ ।

साथै खोप आपूर्तिको लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भइ सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा १ लाख ८० हजार ९२२ पशुहरुमा खोप कार्य सम्पन्न भएको छ ।

नेपालमा लम्पी स्किन पहिलो पटक २०७७ साल असारमा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईहरुमा देखापरी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरु बढी प्रभावित भएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म संक्रमित ७ लाख ९ हजार २०३ पशुवस्तुमध्ये ४ लाख ५३ हजार ८१९ निको भइसकेका छन् भने २५ हजार ७८२ पशु मरेका छन् । हाल २ लाख २९ हजार ६०२ पशु सक्रिय संक्रमित छन् र संक्रमणको दर क्रमशः घट्दै गएको छ ।

लम्पी स्किन गाईभैंसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा / गाँठाहरू देखिने, यल, सिंगान बग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा / जोर्नी सुन्निने जस्ता लक्षणहरु देखिन्छन् । यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका